अलकापुरी - कान्तीपुरी नगरी

समय त्यो
बालाज्यूका २२ धारामा
कल कल पानी
पहाडको कन्दरावाट हेर्दा
मलिला फाँटहरुमा
लहलह बाली देखेरै
कविले मन थाम्न सकेनन् ।

समय यो
मनका भावहरु समेत
अलमलमा परेर
कविका कवित्वहरु
कि त भीडमा हराए
कि त धूलोमा रुमलिए ।

मेलम्चीको धूप छायाँ
पुकार्दा पुकार्दै
एक पुस्ताले नेटो काटी सक्यो ।
सफा सुन्दर हराभरा “नारा”
आफै बुढ्यौलीमा पुग्यो ।

राज्य सत्ता र शासकहरु बदलिए
कार्यशैली, भावना र प्रविधी परिवर्तन भए
आसा र आवस्यकताहरु झाँगिए
तर
हाम्रा विश्वासहरु आफै उभिन नसकेर कुँजो भए ।

दिन गन्तीको हिसाबले
वर्षहरु समाप्त भए
हाम्रा शानहरु पुस्तकमा रहे
त्यही पुस्तक पढेर
मान खोज्दै
युवाहरु कामको लागि विदेश
पलायन भए ।

यो कथा हो
अलकापुरी कान्तीपुरी नगरीको
जहाँ हिमाल, पहाड र तराईका
अनेकौं आसाले
डेरा जमाइरहेका छन् ।

देउतै देउताका बासस्थान
कान्तिपुरको अभिमान
त्यसैमा टेकेर बनेको
राज्यको स्वाभिमान
बदलिएको परिवेश
खोजेर फेरी सभ्यताको चिनो
ब्युँतनु पर्छ हरेकको मन ।

स्वयम्भुका निश्चल आँखाहरुवाट
पुन: देखियोस्
सम्झेर भानुभक्तहरुका कविता
अलकापुरी-कान्तीपुरी नगरी ।
अलकापुरी-कान्तीपुरी नगरी ।।




-हरिहर

Comments

Popular posts from this blog

भन्सार यार्डको बास्ना !

भन्सार अधिकृतको ट्रक डायरी

**हनुमान **