भन्सार यार्डको बास्ना !




भन्सारको एउटा साझा चरित्र भनेको वास्ना वा गन्ध पनि हो । धेरै भन्सारका साहित्यमा पढ्न पाइन्छ, केहि अनौठो गन्ध वा वास्ना आएमा भन्सार नजिकै छ भन्ने । विभिन्न किसिमका वास्नादार सामानहरु बोकेर आउने ट्रकहरुको वास्ना अनि परिश्रमी ट्रक चालकहरुका पसिनाका गन्धहरु नआउने भन्सार यार्ड नै हुँदैन भन्न सकिन्छ । साथै भन्सार यार्डमा ट्रक मुन्तिर बसेर खाना पकाउँदै गर्दाको वास्नाले र्याल चुहिने बनाउँछ जो कोहीलाई ।

सबैलाई आफ्नै हातमा स्टेरिंग होओस भन्ने लाग्नु स्वभाविक पनि छ । कोही देशको कोही कार्यालयको । अझ प्रतिष्पर्धाको दुनियामा आफ्नै निर्णय सर्वोपरी बनाउन को पो चाँहदैन र ?

असली स्टेरिंग त ट्रक चालकहरुको हातमा छ । जसले सामान नल्याई दिने हो भने आजको दुनिया कल्पना गर्न सक्ने नै हुँदैन । हामीले उपभोग गर्ने सरसामानहरु कसरी टोलको पसलसम्म आइपुगे त ? ती पसलमा सजिने सामान कसले ढुवानी गरेर त्यहाँ सम्म ल्यायो उपभोग गर्दा ख्याल गरिन्छ र ? 

चालक ट्रकको, ट्रक साहुको, बोकिएको माल अर्कै देशको साहुको । अजब पेशा गजब जीन्दगी । कुनै मुसाफिर यात्री भन्दा फरक कहाँ छ र यो दिन चर्या । कास्मीर देखि कन्याकुमारी सम्मको यात्रा होस् वा वेजिंग देखि कुन्मिन सम्मको वा होस् ताप्लेजुंग देखि बैतडी सम्मको हतार विना संभव गर्ने यीनै ट्रक चालकहरु हुन् । 
साहुलाई कहाँ फुर्सद होला यी ठाउँ पुग्ने ? तर चालकहरुको काम भनेकै यात्रा हो । 


आफ्नै ट्रक बिस्तारा हो, भान्छा हो, खेल मैदान हो र हो सुविधा सम्पन्न घर वा होटेल पनि । त्यहीँ एउटा समाज बनेको देखिन्छ ट्रक चालकहरुको । फरक फरक ठाउँबाट आउने यी चालकहरुको भाषा एउटाको अर्को संग मिल्नै गाह्रो ।

जहाँ सफा पानी छ त्यहाँ नुहायो धोयो । घाटघाटको पानी पिउनुको मज्जै बेग्लै । आजको गन्तब्य थाहा हुँदैन । कहाँ के कारणले रोकिन्छ पत्तो लगाउनु पनि पर्दैन । जब बाटो खुल्छ अनि फेरि यात्रा सुरु । 

नेपालको लजिष्टिक कस्ट (यातायात खर्च) अलि धेरै छ सामानको मुल्यको आधारमा । त्यो घटाउन नेपालले धेरै प्रयास पनि गरेको छ । तर पहाडी बाटो, प्राकृतिक प्रकोपको समस्याका कारण, भने जति सुधार हुन सकेको छैन । गैर कर अवरोधको पटक पटक चर्चा हुने गरेको छ । तर उल्लेख्य परिवर्तन हुन सकेको छैन ।
सुधारका लागि एकिकृत जाँचचौकी र सुख्खा बन्दरगाहहरु बनेका छन् । जहाँ ट्रक चालकहरुलाई बेग्लै खाना पकाउने स्थान समेतको व्यवस्था पनि गरिएको छ । पानी र स्नान गृहको समेत व्यवस्था गरिएको छ । 





जतिसुकै सञ्जालयुक्त सडक भए पनि एक पटक यात्रा गरेको ठाउँ नभुल्नु समेत ट्रक चालकहरुको विशेषता रहेछ । अनि नआत्तिइकन लामो बाटो होस् वा छोटो विस्तारै हिड्नु र गन्तब्यमा पुग्नु अर्को विशेषता । न त एटलस छ, न नयाँ प्रविधिको गुगल म्याप नै । नयाँ ठाउँ जाँदा पनि कताकति सोधेर काम चलाउँछन् यीनीहरु । 

भन्सार यार्ड कम्तिमा दिनको दुइ पटकसम्म निरिक्षण गर्ने काम हुँदा यिनीहरुको दिनचर्या बारे बुझ्न पटकपटक प्रयास गरेको छु । टुटेफुटेको हिन्दी (स्थानीय भाषा) मा जवाफ दिन्छन्, नेपालमा माल बोकेर आउने अधिकांस भारतीय ट्रक चालकहरुले । नेपालमा प्रतिदिन भारतीय करिव १ हजार १ सय मालबाहक ट्रकहरु भित्रिन्छन् । यीनै ट्रक चालकहरु नै हुन्, उपभोग्य बजारका जीवन रेखाहरु ।


खाना पकाउँदै गर्दा खानाको कुरा पनि सोध्ने गरेको छु यिनीहरुसँग । बडो हृदयताका साथ आमन्त्रण गर्छन् । "हमारे साथ खाइए" । पटक पटक सोधेको छु खानाको स्वाद उनीहरुसँग । खाने जमर्को पनि गरेको छु । 






पटना, जारा भन्ने ठाउँका ट्रक चालक भोरिक सिंह । जसले दशवटा ट्रक भएको कम्पनी चलाउँछन् र आफु चालक पनि हुन् । यिनी ट्रक साहूका मुख्य मान्छे रहेछन् र सेयर पनि रहेछ यिनको ट्रक कम्पनीमा । तर अझ नाम चल्दो रहेछ जज सिंहको जो क्याप्टेन चालक रहेछन् । गाडीको खटपटन गराउने क्याप्टेन । 



कति स्वादिष्ट भोजन । रोटी, भात, दाल, सब्जी अनि आलूको चोखा । हिन्दु संस्कृतिमा केही पंडितहरु स्वयं पाक्य रहेका भेटिन्छन् । यी मनुवाहरु पनि स्वयं पाक्य नै रहेर स्वस्थकर खान्छन् अनि अति सस्तोमा । यात्रामा स्वास्थ्य ख्याल गर्नुपर्छ भन्दै थिए भोरिक सिंह ।

अनुरोध गरे पछि मिठासपूर्ण भोजन मलाई पनि गराए । कति मिठो, स्वस्थकर र स्वादिष्ट रहेछ खाना । अझ जिस्क्याउँदै थिए साहेब आउने थाहा भएको भए मासु बनाउँथ्यौं भन्दै । अनि पैसा लिन मानेनन् यी कर्म योगीहरुले । बरु बाटोमा दुख पाउँदा सम्झिने भनेर मेरो फोन नम्बर लिए । खाना खाँदै गर्दा घरायसी देखि व्यापार सम्मका कुरा भए । यात्रामा हुने दुख देखि सुख र रमाइलो कुराहरु । 

एक छाकको वा बढीमा दुई छाकको मात्र जोहो गर्ने यिनीहरुको २ देखि ३ जनाको खानाको मुल्य करिव करिव रु. २०० (भा रु) पर्ने रहेछ ।

ढावा वा कतै होटेल तथा रेष्टुरेण्टमा चाही बनाउन नभ्याउँदा खाने भन्दै थिए भोरिक सिंह । लामो राजमार्ग वा बाटोमा बनाउने ठाउँ हुँदैन त्यस्तो बेला ढावामा खाने तर ढावा वा रेष्टुरेन्टको खाना मीठो नहुने, पेट नभरिने, आफ्नो स्वादको नहुने, स्वस्थकर पनि हुँदैन मात्र होइन महंगो पनि हुन्छ भन्छन् जज सिंह ।





कहिले काही फुर्सद हुँदा माछा मासु पनि बनाउने रहेछन् तर माछा मासु खाने समय तालीका भने रहेनछ । दारु तथा रक्सी जन्मेदेखि आज सम्म नचाखेको बताए दुवै जनाले । खाना खाने समय भने करिव करिब मिलाउँदा रहेछन् १,२ घण्टाको वरपर ।
भोरिक सिंह २५ वर्ष देखि भारतका विभिन्न सहर देखि नेपालका थुप्रै ठाउँहरु ट्रक चलाएर पुगेको बताए । तैपनि नेपालको कुनै ढावा वा रेष्टुरेन्ट वा होटेलमा नखाएको बताए । नखानुको कारण महंगो हुने, स्वाद नमिल्ने र भनेजस्तो परिकार खान नपाइने भन्दै थिए भोरिक सिंह । तर नेपालमा पिउने पानी सफा र राम्रो छ, स्नान गर्न यहाँको खोलामा पनि रमाइलो हुन्छ भन्न भ्याए ।

नेपालका ट्रक चालकहरु यसरी बनाएर खाँदैनन र उनीहरु बाटोमा लामो समय होटेलमा बस्ने गरेको कुराहरु समेत सुनाए । साच्चै हो त नेपाली ट्रक चालकहरुले बाटोमा आफै खाना बनाएर खाएको देखिएको छैन । तर नेपाली ट्रक चालकहरुले खाना खाने ठाउँहरु पनि विशिष्ठीकृत नै हुँदा रहेछन् । तत्कालै राजमान भन्ने नेपाली ट्रक चालक सँग सोधेको घिउ समेत हालेर बाटोको होटेलमा सस्तोमा खाना खुवाछन् रे उनीहरुलाई होटेलहरुले करिव रु २०० मा । उनीहरुले खाने होटेल बजारमा हुँदैन रे, जंगलको छेउछाउ तिर बाटोको किनारमा बनेका झुपडपट्टीमा खान्छन् रे । खाना बनाउन धेरै चीजको जोहो गर्नु पर्ने र आजसम्म आफै खाना नबनाएको बताए नेपाली ट्रक चालक राजमानले ।

खानाको लागि प्रति महिना रु ९००० (भा रु) र तलब रु १६००० (भा रु) साहूबाट मिल्ने कुरा गर्छन् जज सिंह । ९ हजार भन्दा बढीको खाना खाएमा आफैले तिर्नु पर्ने रे ।
अहिले पटना देखि खाद्यान्न बोकेर आएका रहेछन् । हिजो नेपाल तर्फको भन्सार यार्ड छिरेको सायद आज पास हुन्छ कि सामान भन्दै थिए । भन्सारको पास गराउने मान्छे आएको थियो रे ।

अफ्ट्यारो बाटोमा स्थानीय चालकले दुख दिने गरेको सुनाए । भाषाको समस्याले कतिपय ठाउँमा भनेको कुरा नबुझ्नाले समेत दुख पाएको रे ।

कतिपय ठाउँमा प्रहरीले समेत सहयोग गर्ला भन्दा झन् धेरै दुख दिएको । कुनै कारण बिना सवारी घण्टौं सम्म रोकि दिएका पनि रहेछन् ।

नेपालमा भारतीय सवारी ठूलो ट्रक भनेर हेलाँ गर्ने । बोलीमा सम्मान नभएको सम्म भन्न भ्याए उनले । 
तौल कम हुँदा पनि बढी तौलको भनेर जरिवाना लगाएको समेत रहेछ । 



भन्सार यार्डमा ३ दिन देखि बसेका छन् हरियाणाका महबुब जमीर । रक्सौल हुँदा फोनमा कुरा भएको साहुको मान्छेसँग तर मालवस्तुको कागजात लिएर अहिले सम्म नआएको गुनासो गर्दै थिए । 
भन्सारमा के कारणले रोकियो थाहा नै नहुने । साहुको मान्छेले अब एकछिन भनेर जान्छ अनि दुइ दिन आउँदैन । न उता जान मिल्छ न त बाहिर । ट्रकमा भएको सामान हराएमा टुटफुट भएमा दोष हामीलाई नै दिन्छन् साहुहरुले भन्दै थिए महबुब जमीर । जसको ट्रकले बोकेर ल्याएको छ मेसिनको पार्टपूर्जा ।
बीसौं पटक काठमाण्डौ र नेपालका विभिन्न भुभाग माल बोकेर पुगेको बताए महबुबले पनि ।


कतिपय साहुहरु खर्चको प्रबन्ध समेत सोध्छन् र कुनै कुनैले बाटो खर्च समेत दिने गरेको बताए उनले । कति पय साहुहरु बाटो खर्च माग्दा रिसाउने पनि रे । 

एक पटक गाडीको ट्यांकीमा भएको डिजेल बेचेर रोटी खा़एको । बल्ल तल्ल हरियाणा सम्म पुगेको सुनाए उनले । जहाँ उनको काकाको छोरो पनि चालक रहेछ त्यही ग्रुपको । उसले खर्च र तेल हालिदिए पछि पुगेछन् राजस्थान ।






७ महिना अघि बाटो पर्दा ३ घण्टा जति घर निर गाडी पार्क गरेर बसेको । नत्र वर्षमा १ पटक मात्र घर पुगेर रात बस्ने कुरा सुनाए । 
कहिले कहीँ सवारी वीच बाटोमा बिग्रिएर दुख पाइन्छ । जंगल वा मिस्त्री नभएको ठाउँमा बिग्रियो भने अझ सास्ती । त्यस्तो अवस्थामा अर्को ट्रक चालकले सहयोग गर्ने कुरा पनि सुनाए ।

वास्तवमा नै भन्नु पर्दा ट्रक चालकहरुको जीन्दगी रसपूर्ण छ । भारतका सडकपरिवहन मन्त्री नितिन गडकरीको एउटा भाषण सुनेको छु । ट्रक चालकहरु कम भएको बताउँदै उनले सडकमा ट्रक चालकका लागि निशुल्क सयनकक्ष सहितको ढावाको समेत व्यवस्थापन गरेको बताएका छन् । भारत यात्रा गर्दा लामा राजमार्गमा त्यस्ता सयनकक्ष देखिन्छन् पनि । त्यसै गरी ट्रक चालकको भूमिका सुरक्षित यात्राको लागि महत्वपूर्ण हुने भन्दै ट्रक चालकका लागि एन २ र एन ३ स्तरीय एयरकन्डिसनिंगको व्यवस्थापन गरिएको समेत उनको ट्वीटमा पढेको छु ।



हामी सामानको मुल्य घटाउने भन्छौं । यसै विषयमा ठूला बहस पनि हुन्छन् । सरसामानको ढुवानी व्यवस्थापन नगरी उत्पादन मुल्यले मात्रै वस्तुको भाउ पक्कै घटाउन सकिँदैन । 
कर्मयोगी असल आत्माहरु, हाम्रा दिन चर्याका जीवन रेखाहरु यी ट्रक चालकहरुलाई मनै देखि धन्यवाद ।


धन्यबाद


Twitter : @Harihar029

यो लेखको लिंक :

 https://www.setopati.com/blog/322671



पुराना लेखहरु 
https://www.setopati.com/blog/229043

https://www.setopati.com/blog/295504

Comments

Popular posts from this blog

भन्सार अधिकृतको ट्रक डायरी

एउटा फरक अनुभव : भारत कृषि भ्रमण