नाकाबन्दी, हामी र हाम्रो समाज

नाकाबन्दी


आधुनिक नेपाल शुरु भएपछि पनि नेपालको राजनीति र शासन उत्तदायित्व विहिन भएकै हो । इतिहाँस खोतलेर आजको दुख टर्दैन । त्यसैले खुला समाज र प्रजातान्त्रिक अभ्यास शुरुभए ( वि. सं. २०४६) पछिका  कर्तव्यहरु पालना भए नभएको मुल्यांकन गर्ने समय आएको छ ।  यो किन पनि भनिएको छ भने नाकाबन्दीले नै पहिलो जनआन्दोलनलाई उचाई दिएको थियो । यो पनि विर्सन हुँदैन कि २००७ सालमा सम्झौता दिल्लीमा भएको र नेपालमा प्रजातन्त्रीक जग बसाल्न शुरु भएको हो साथै भारतीय नेताहरुको भाषणवाट नेपालको पहिलो जनआन्दोलनलाई थप बल पुगेको थियो । यो खुला अवधिमा कानून र गैर कानूनका सबै बैधानिक अबैधानिक प्रक्रियाहरु नेपालमा अबलम्बन गरिए । लामो समय नेपाली कांग्रेस सत्तामा रह्यो र दोश्रो एमाले दुबै नै भारतका सल्लाह अनुसार नै चलेकामा प्रश्न छैन । तर जनता केन्द्रीत राजनीति नभएर शासकीय बिरासत केन्द्रीत राजनीति यो अवधिको प्रमुख बाधक भएकै कारण जनताका आवस्यकता भन्दा शक्ति केन्द्र रिजाउने परिपाटीले विकास र चेतनाको स्तर बढाउन सकेन । दण्हीनता र सामाजिक वितृष्णालाई जब अपरिस्कृत राजनीतिको शिकार बनाइन्छ तब समाज विग्रह हुनथाल्छ अनि विवाद टुंगोमा पुग्न कठीन हुन्छ । यो २५ वर्षको छोटो अवधिमा न त राजनीतिक नेतामा नैतिकता देखियो न त प्रजान्तन्त्रमा अनुशासन । दुबै सैद्धान्तिक व्यवस्था संचालनका पूर्व शर्त हुन् । पछिल्ला दिनमा जनयुद्धको नाम दिइएको कम्युनिष्ट सत्ता प्राप्तिको युद्धको अवसान पनि दिल्लीमा नै गएर भएको पनि कहाँ विर्सन सकिन्छ र । विकास र चेतनामा समाज अगाडि भएको भए न त युद्ध हुन्थ्यो न त आन्दोलन । यो सब अचेतना, असंस्कार, बेरोजगारी र राजनीतिक उद्योगमा व्यवसायिकरणको फल हो । खान, बस्न र सामाजिक सुरक्षाका सामान्य कुराहरुको अभाव भइरहेको ठाउँमा राजनीतिक अधिकारको अर्थ खोजिएको छ । दिशा पिसाबको सही व्यवस्थापन नभएका गाउँहरुका चौताराहरु राजनीतिक बहस र नीति केन्द्रित बन्न पुगेका छन् । राम्रा र सक्षम व्यक्तिहरु विदेश पलायनको आँकडा बढ्दो छ भने युवा जनशक्तिलाई विदेश पठाउने रणनीतिमा आधुनिक अर्थशास्त्र रमाएको छ । यदि यो २५ वर्षमा समाज र मुलुकका लागि गरेको भए न त आन्दोलन हुन्थ्यो न त ती मनहरुमा तनाव । एउटा कर्मशिल पुस्ता योगदान बिना समय बितिरहेको छ । राजनीति र सरकार प्रति नयाँ पुस्ता विश्वस्त हुनैनसक्ने अवस्था सिर्जना भएको छ । आफ्नो लागि गर्ने र जनताका सास्तिको कुनै प्रवाह नगर्ने नेताकृत सिद्धान्तमा दैनिक ज्यालादारीमा आन्दोलन हुने गरेका यथार्थता लुकेको छैन ।
दुनिया व्यापार र फाइदामा रमाएको छ । यसमा भारत नेपालका सन्धीहरु पनि तीनै फाइदाका लागि रचिएका होलान् । अहिले मधेशीलाई भारतपरस्त भनिएको छ र  सामाजिक संजाल भरि त्यस्तै तर्कहरु आएका छन् । यी पनि भारतका लागि उँखुका खोया सरह हुन् भन्ने यथार्थता सबैले समयमा नै बुझ्नुपर्दछ । किनभने सम्बन्ध सिद्धान्तमा भन्दा आज फाइदामा चल्छ । आज म भारतीय भएको भए के गर्थेँ होला भन्ने कुरा सोचियो भने पनि यी नाराहरु फेरि खोक्रा लाग्नेछन् । विकल्प बिना नै गरिने सम्बन्ध र राजनीतिले अन्यौल मात्रै गराउने विश्व इतिहाँसहरु साँक्षी छन् । आज भारत छोडेर चीनतिर लाग्दा फेरि त्यस्तै दोहोरियो भने त झन् बिकल्प पनि बाँकि रँहदैन । अनि हामी फेरी जंगलको कन्दमुल युगमा फर्किनु पर्नेछ । तसर्थ नाकाबन्दीलाई बजारीकरण गर्नु भन्दा दीर्धकालीन रणनीतिहरुका साथ समाज उन्नति गर्ने तर्फ लाग्नु उपयुक्त देखिन्छ ।
अर्को तर्फ यो नाकाबन्दीको अवधिमा हाम्रो आयातमा आधारित राजस्वको प्रवाह गर्नु नपर्ला तर तस्करी भएको हिसाब गर्ने हो भने आङ नै सिरिङ्ग हुने अवस्था छ । ती मान्छेहरु जसले यो समयमा तस्करी गरे के त्यो कालान्तरमा सहजै रोकिएला ? राज्यले गर्ने तस्करीको हिसाब हाम्रो जस्तो मुलुकले चुकाउन बाँकी नै छ । 
नाकाबन्दी नभएको भन्ने तर्क र भएको भन्ने तर्कहरु दुवै झोले विचारहरु भएका छन् । राज्यलाई बँचाएको विप्रेषण र ती विप्रेषित युवाको कुनै मुल्य देखिएको छैन । विप्रेषणको रकम र दातावाट प्राप्त रकमको यो दशकमा नै लगानी नगर्ने हो भने कसैले नाकाबन्दी नगरे पनि नेपाली समाज विश्व राजनीति र समाजवाट अलग हुने निश्चित छ ।

हामी र हाम्रो समाज 


पुरातन सोच, मुखिया र पुरेत संस्कृतिको जग कतिपय प्रगतिको बाधक होइन भन्न सकिने आधार छैन । कर्ममा भन्दा भाग्यमा रमाउने चेतनाका कारण कानूनमा व्यवस्था गरिए पनि परिवर्तन हुन नसकेको अवस्था छर्लंङ्ै छ । एउटै काम गर्ने मान्छे वीचको विभिन्नता हाम्रो समाजमा भन्दा अन्त कहाँ होला र ? अछुत भनेर समाजले खराव र फोहोरी काम मात्रै लगाउँदा पनि शताब्दीयौं देखि निरन्तर चलेकै छ । वर्ग विहिनको आन्दोलन शुरु गरेको आधा शताब्दी भन्दा  बढी भइसक्दा पनि वर्गमा खासै फरक परेको छैन । 
समाजलाई हेर्दा विभिन्न किसिमको चेतना शुन्य समाज देखिन्छ जसमा मध्य पहाडको वर्ग ( छुवाछुत देखि जन्म शिद्ध अधिकार र भाग्यमा रमाउने, साथै विश्वास मजवुत रहेको र चलाख समाज ), उत्तरी मंगोलीयन समाज ( परिश्रम , मिजास र परस्पर विश्वासिलो समाज),  पहाड र तराई वीचको समाज ( विश्वास, कर्म र भाग्यमा रमाउने समाज) र अन्तिम तराईको समाज (अतिकम विश्वास र आत्म परक समाज) । यी समाजमा वर्ग, जात, सम्प्रदाय , भाषा र संस्कृति फरक फरक रहेको देखिन्छ । 
जसवाट नयाँ समाज निर्माण र विकासका लागि सुहाउँदो नीति तर्जुमा गर्न सकिने छ ।
पछिल्ला दिनमा भएका राजनीतिक घटनाक्रमले समाजलाई कतै एकिकृत त कतै छुट्याउने काम गरेको छ । तराईको समाज अझ अविश्वास र व्यक्तिगत फाइदामा बढी उन्मुक्त देखिएको छ । नेताकृत वर्ग र अल्पकालीन खुशीमा रमाउने वर्ग अति चाम्रो र कुरा फेर्ने वर्गमा रुपान्तरित हुँदै गइरहेको देखिन्छ । त्यसै गरी अरु तीन समाज परस्पर सहायता र सहनशीलतामा रमाउन खोजेको पनि यथार्थ हो । अति विश्वासीलो उत्तरी समाज  विदेशमा समेत ख्याति कमाएर नेपाल भन्ने चिनाउन लागि परेको छ । मध्य पहाडी समाजमा राज्यको डाडु, पन्यो रहेको र नेपाली भन्ने उपसर्ग जोडिएको समाज हो । 
राज्यको पहुँच कुनै पनि समाजको लक्षित वर्गसम्म आजसम्म पनि पुग्न सकेको छैन । कसैलाई सरकारले गरिदिन्छ भन्ने विश्वास पनि हराईसकेको छ । अधिकार प्राप्तिका राजनैतीक आन्दोलनहरुले अधिकार चिनाउन प्रयास गरे पनि कर्तव्यहरु सिकाएका छैनन् ।  कर्तव्य बिहिन अधिकारले कुनै पनि शासकीय स्वरुपलाई सहयोग गर्दैन । अझ यो अवधिमा समाज विकासमा अगाडि भन्दा पछाडी नै रहेको विभिन्न प्रतिवेदनहरुले औंल्याएका छन् । 
अधिकारका नाममा कामहरुमा अवरोध भएको छ, एकातिरको रिस अर्को तिर पोखिएको छ । अधिकारका आन्दोलन शुरु गराउनेहरुको हालमा आन्दोलनको गन्तव्य रहेको छैन । एउटा माग गरिएकोमा वीचमा उछृंखल कृयाकलापवाट सस्ता माग र आत्मरतिमा राजनैतिक कृयाकलाप टुंगिएका छन् ।
अत: यी समाजलाई एकिकृत गरी चेतना, विकास र अग्रगमनका प्रयास गर्नु निकै जटील छ । वर्गको संलग्नता विना कुनै पनि नीति तथा कार्यक्रम वालुवामा पानी सरह हुनेछन् । 

अव के गर्ने त ?


विकासलाई सामाजिक संसकृतिको आधार नबनाई नहुने भएको छ । राज्य संयन्त्र प्रतिबद्ध र एकल सोचवाट निसन्देह अगाडि बढ्नुको विकल्प छैन । राज्यको विश्वासको जग बसाल्नु नै पहिलो काम हो । रोजगारी सिर्जना र तुलनात्मक लाभका व्यवसायमा लगानी बढाउन ढिला भैसकेको छ । परम्परागत कामलाई राज्यले नगदमा रुपान्तरण नगरी सुखै छैन । चेतना र नैतिकताका पाठ प्रत्येक अगुवासंग हुनैपर्दछ ।  प्रगतिका लागि परस्पर सहयोग, एक अर्कालाई बुझ्ने र विश्वासको वातावरण तयार गर्नु पर्ने देखिन्छ ।
पहिलो काम भनेकै चेतनाको स्तर बढाउनु नै हो जसले सामाजिक रुपान्तरणका लागि सही मार्ग निर्देशन गर्दछ । व्यावसायिकताको विकास र आत्म निर्भरताका आयामहरु स्पष्ट हुनै पर्दछ । छरिएका बस्तीहरु एकत्रित बस्ती विकासका नमूना कार्यक्रमहरु क्रमश विस्तार गर्नु पर्ने देखिन्छ । श्रोतको दीर्घलालीन र भरपर्दो उपयोगमा समाजलाई अग्रसर गराउनु श्रेयस्कर हुन्छ । राजनीति प्रति विश्वास पैदा गराउने, राज्यको पहुँच बढाउने र अनुदानको विश्वसनीय उपयोग नै क्षति बिहिन प्रगतिका साधनहरु होलान् ।

हरिहर
२०७२।९।२३


धन्यबाद 



Comments

Popular posts from this blog

भन्सार यार्डको बास्ना !

भन्सार अधिकृतको ट्रक डायरी

भुकम्प र पराकम्पका निसानाहरु