स्वाभिमानी । अभिमानी ।।

हामी बग्रेल्ती
आवश्यकता बोकेर
शहरका गल्लीमा
झीँझा खोजिरहेछौं ।
हामी मनहरु च्यापेर
बाँच्नुको लाइनमा
केही पाउने आसामा
खुशी साट्न बसिरहेछौं ।
प्रकृतिले नसकेको
हाम्रो भरोसा
छिमेकीले कसो गरी
सक्ला ?
शताब्दीका प्रविधीहरु
हामीलाई गिज्याउँदाहुन्
हामीलाई अरुको मतलब छैन
सम्बन्धको गाँठो कसेर
भोको पेट र नांगो आँङमा
मुस्कान छर्दै आसाहरु
कुरिरहेछौं ।
गजवको हाँसो हाँसेर
हामी बिहान र साँझको
छाक विर्सिरहेछौं ।
मनहरु रमाउन जानेका
विश्वासहरु जगाउन सिकेका
हामी अर्थात्
भाग्यले ठगिएका
प्रकृतिले पाखा पारेका
छिमेकीले आँखा गाडेका
आफ्नैले माया मारेका
एक मुठी सासमा
रमाउन जानेका
पहाडको कन्दरामा
आवाजहरु लुटाउँदै
ओडार खोज्ने
स्वाभिमानी नेपाली ।
अभिमानी गोर्खाली ।।


Comments

Popular posts from this blog

भन्सार यार्डको बास्ना !

भन्सार अधिकृतको ट्रक डायरी

**हनुमान **