बौवा मिस्त्रीसँग भन्सार अधिकृतको भेट!

 


ऊ ‘बौवा मिस्त्री’ राजुले भने। हामी एकतर्फी हाँस्यौँ। खासमा पसलमाथि झुण्ड्याइएको साइनबोर्ड थियो त्यो। लेखिएको थियो- ‘बौवा मिस्त्री’।

कलंकी चोकबाट पश्चिम ढुंगा अड्डा नपुग्दै उत्तरतर्फ थियो बौवा मिस्त्रीको वर्कशप।


भन्सारमा मोटर पार्ट्सको मूल्यांकनमा केको आधार लिने दैनिक अन्यौल हुन्थ्यो। मूल्य नबढाई लैजान नमान्ने घोषणाकर्ताहरू। झन् बढी शंका।

अनि हामी सम्झन्थ्यौं ‘बौवा मिस्त्री’ लाई। भेट्ने अवसर मिलेन धेरै लामो समयसम्म पनि। त्यो बाटो हिँड्दै गर्दा प्रत्येक पटक झुण्ड्याइएको साइनबोर्डमा आँखा पुग्थे। तर अचानक एकदिन बोर्ड थिएन। अनि सुरु भयो कौतूहल। के कस्तो होलान् बौवा मिस्त्री? कहाँ गए होलान्?

म ती बौवा मिस्त्रीको बोर्ड कहाँ गयो खोज्न हिँडेँ। त्यहाँ अर्कै पसल थियो। भेट भयो घरबेटी वीरगंजका कबिरजंग राणासँग। बडो मिजासिला मान्छे कबिरजीले भेट्टाइदिने वाचा गर्नुभयो, बौवा चाचालाई। उहाँहरू चाचा भन्नुहुँदो रहेछ। करिब १५ वर्षसम्म उहाँको घरमा मोटरपार्ट्सको दुकान र वर्कशप चलेको रहेछ बौवा मिस्त्रीको।

कबिरजीले वाचा गरेको करिव डेढ वर्षपछि बल्ल साक्षात्कार हुन पाएँ बौवा मिस्त्रीसँग। भौतिक रुपमा भेट्नुभन्दा ९ महिना अगाडि नै फोनमा भने कुरा गर्न पाएको थिएँ। कौतूहलता बढ्दै गयो। मुजफ्फरपुर म जान नसक्ने अनि बौवा मिस्त्री यहाँ नआउने।

संयोगले उनी काठमाडौं आएको अवसर पारेर मनको धोको पूरा गरेँ।

ऊबेला वीरगंजका शंकर बाबुको काठमाडौं-वीरगंज चल्ने आराथुन भन्ने गाडी बिग्रेको रहेछ। वीरगंजमा गाडी बिग्रेपछि बौवा मिस्त्रीलाई लिन मुजफ्फरपुर गएछन्। बौवाले वीरगंज आएर बिग्रेर बसेका बस र ट्रक गरेर यस्तै ८ वटा जति गाडी बनाएँ। त्यसपछि शंकर बाबुले बौवालाई काठमाडौं जाने हो भनेर सोधेछन् र कर गर्न थालेछन्।

बौवा आमालाई सोध्न मुजफ्फरपुर गए। बौवाकी आमाले त्यति टाढा नसुनेको ठाउँ नजानू भन्दाभन्दै शंकरबाबु र अजाज सिंह (सरदारजी) उनलाई लिन गएछन्। त्यतिबेला उनी त्यस्तै १५ वर्षको थिए रे। अनि शंकरबाबु र अजाजसँग उनी काठमाडौं आएछन्।

काठमाडौं-वीरगंज ट्रक र बस चल्न सक्ने कच्ची बाटो भएपछि धेरैले ट्रक र बस किन्न थालेका थिए। धेरै रक्सौलका व्यापारी थिए। अजाज सिंह पनि रक्सौलका थिए। उनको हिमालय जनता भन्ने बस काठमाडौं-वीरगंज चल्थ्यो रे। तीन वटा बस बिग्रेकाले त्यही बनाउन बौवा मिस्त्री काठमाडौं आएका थिए।

उतिबेला बाटो राम्रो थिएन। यस्तै डेढ दिन जति लाग्थ्यो रे काठमाडौं पुग्न। धेरै नयाँ-नयाँ गाडीहरू बिग्रिएका थिए रे। बाटोमा नै गाडी बिग्रिएका। बौवाले बाटोदेखि नै बनाउन सुरु गरेँ। काठमाडौंमा उनको धेरै माग भयो। काठमाडौंमा अरु दुई जना मिस्त्री पनि थिए रे तर उनीहरूले बनाउन जानेका थिएनन्। सामान्य कुरा मात्र जान्दथे।

गाडी बनाउन विरगंजमा सजिलो थियो, मोटर पार्ट्स सजिलै पाइने। काठमाडौंमा नपाइने। बिग्रेका सामान फेर्न मोटर पार्ट्स लिएर आउनुपर्ने भयो रक्सौलबाट। कतिपय पार्ट्स लिन कलकत्ता समेत जानुपर्थ्यो। त्यो बेला मोटर पार्ट्समा भन्सार गरी ल्याउने चलन नै थिएन। आफै गयो, किनेर बोकेर ल्यायो। कसैले सोध्दैनथ्यो।

मुजफ्फरपुर नजिकैको गाउँमा जन्मेर मदरसामा सामान्य लेकपढ गर्न सिकेपछि बौवा कलकत्ता गएका थिए, करिव ८ वर्षको उमेरमा। कलकत्ताको श्रीरामपुरमा मोटर वर्कशपमा काम गर्दागर्दै मिस्त्री गणेश्वर बरुवासँग उनले गाडी बनाउन सिके। असली नाम मोहम्मद जैन उद्दिन अंसारी भए पनि बौवा मिस्त्री नाम नै प्यारो लाग्छ उनलाई। काठमाडौं र वीरगंजमा उनलाई बौवा मिस्त्री भनेर नै चिन्छन्।

टाटा र अशोक लेलैण्डले सवारी साधन बनाए नजिकै भारतमा। त्योबाहेक नेपालको बजारमा विभिन्न कम्पनीका सवारी साधन आयात हुन थालेको पनि धेरै वर्ष भयो। नेपालमा सवारी साधन नबने पनि आजको संसार सवारी साधन बिना कल्पना गर्न सकिँदैन।

बौवा मिस्त्रीले अशोक लेलैण्ड र जर्मन गाडीहरू बनाए। पछि टाटा गाडीहरू पनि आए। रत्नपार्क निर नयाँ बसपार्क खोलेपछि उनले आफ्नै काम सुरु गरे, त्यही बसपार्कको टहरोमा बौवा मिस्त्री भएर। बौवा भनेको माया गरेर बोलाउँदा भन्ने शब्द ‘बाबु’ हो।

उनले २०४६ सालमा नेपाली नागरिकता लिएँ। नेपालीले गाडी चलाउँदा धेरै बिगार्ने रे। उनी आफैले २/४ दिन गाडी यसरी चलाउनु पर्छ भनेर काठमाडौं-पोखरा गाडी पनि चलाएछन्। मुग्लिन र दमौलीमा पुल नभएका कारण त्यो बेला डुँगाबाट गाडी तार्नुपर्थ्यो रे।

काम गर्दागर्दै उनले नेपाली भाषा सिके। धेरै साहुहरूसँग सम्बन्ध पनि भयो। धेरैले माया गर्ने उनी सम्झिन्छन्।

तालिम भनेको त कम्पनीले नयाँ-नयाँ व्यवस्था बनाएपछि सामान बिकाउनलाई गरेको विज्ञापन मात्रै बुझ्छन् उनी। उनीसँग काम सिकेकाहरूले राम्रो गरिरहेको उनले सुनाए।

‘महेन्द्र सिंह सरदार छ, त्यो ठूलो मान्छे बनेको छ। बसपार्कदेखि नै सिकेको महेन्द्र शर्मा छ। कतिपय दुबई, कतार तिर पनि गएका छन् काम गर्न। ५०० जनाभन्दा बढीले नै सिके मसँग काम,’ उनल भने।

पछि उनलाई हर्ट-अट्याक भयो। उनले जग्गा किन्न सकेनन्। ठूलो काम गर्न सकेनन्। त्यसपछि मात्र उले मोटर पार्ट्सको दुकान खोलेका रे। अहिले त्यो पनि छोडेर मुजफ्फरपुर बस्छन्।

अहिले उनी ७७ वर्षका भए। आँखा कमजोर छ, हातले सामान समाएर लगाउन सक्दैनन्। कतिपय सोध्न आउँछन् अनि यसो गर्नू भनेर सल्लाह दिन्छन्।

***

एउटा सवारी साधन के-के मिलेर बनेको हुन्छ त्यो अर्कै विषय हुन सक्ला तर जान्न जरुरी के हो भने, कुन सामान कहिले फेर्ने र सवारी साधनलाई कसरी दुरुस्त राख्ने भन्ने नै हो। यदि यसो नगरिएमा सवारी साधन नगुड्ने वा दुर्घटना पनि हुन सक्ने जोखिम रहन्छ।

तिनै सवारी साधनमा प्रयोग हुने मोटर पार्ट्सको मूल्यको विषय घाँटीमा अड्किरहने हड्डी बनेको छ भन्सारमा। खासमा जति मूल्य तिरिएको हुन्छ वा तिर्नुपर्ने हुन्छ त्यो नै सो बस्तुको वास्तविक मूल्य हो। तर राजस्व कम बुझाउने उद्देश्यले मूल्य कम गरी भन्सारमा घोषणा गरिन्छन् तर त्यसको वास्तविक ग्राहक वा फाइदा लिनेहरू बौवा मिस्त्रीहरू हुँदैनन्।

प्रविधि र सुविधाले संसारको दैनिकी फेरिएको छ। आज कम्प्युटरबाट नै बिग्रेको पत्ता लगाउने प्रविधि विकास भएको छ सवारी साधनमा। विभिन्न कम्पनीका सुविधायुक्त सवारीहरू देखिन्छन् बजारमा। कुन सवारी चढ्छ भन्ने अवस्थाले उसको आर्थिक हैसियत देखिन्छ।

तर बौवा मिस्त्रीहरूका दिनचर्या र काम सिकाइको अवसर त्यति फेरिएको छैन। सवारी साधनका सर्भिस सेन्टरमा इन्जिनियरहरू त छन् तर अप्ठ्यारो स्थितिमा पुन: बौवा मिस्त्रीहरूकै हात चाहिन्छ सवारी गुड्न।

पहाडको बाटो, प्रत्येक वर्ष जाने बाढी पहिरोबाट हुने क्षति अनि सवारी साधन दुरुस्त नहुँदा धेरै दुर्घटनाहरू भएका छन् हामीकहाँ। धेरै करका कारण परल मूल्य महंगो हुँदा व्यक्तिगत सवारी साधन आम नेपालीको पहुँचभन्दा बाहिर नै भएको अर्को यथार्थ छँदैछ।

भन्सारमा बढी विवाद हुने विषय भनेकै भन्सार मूल्यांकन हो। कुन मालवस्तु कति पैसामा आयात भयो र बजारमा त्यसको कति मूल्य पर्छ। बडो सोचनीय पक्ष यो हो कि सही मूल्य कसरी पत्ता लगाउने?

समग्र कर प्रणालीका लागि न्यून विजकीकरण हाम्रो समस्या भइआएकै हो। प्रत्येक भाषणमा न्यून विजकीकरण भयो, नियन्त्रण भएन भन्ने सुनिन्छ नै। मूल्य अभिवृद्धि करको 'क्याच अफ इफेक्ट'ले पनि समाउन सकेन। समस्या ज्यूँका त्यूँ रहे।

हामीले विश्व व्यापार संगठनका भन्सार मूल्यांकन सम्बन्धी तरिकाहरू अंगीकार गरेका छौँ। भन्सार ऐनमा बुझिने गरी कारोबार मूल्य, आइडेन्टिकल गुड्स, सिमिलर गुड्स, डिडक्टिभ मेथोड, कम्प्युटेड भ्यालु मेथोडलगायत लेखिएकै छ।

भन्सार सुधार तथा आधुनिकीकरणमा हामी केही बाँकी नराखिकन काम गरेका छौँ। जहाँ जे लेखे पनि वा जति प्रणाली सुधार गरे पनि भन्सार मूल्यांकन पद्धतिमा देखिने गरी धेरै फरक महसुस गर्न सकिएको छैन नै।

हामीले आसिकुडा वर्ल्ड प्रणाली लगायौँ। नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयनमा छ। सबै निकायका सूचना प्रविधियुक्त प्रणालीहरू छन्। धेरै कारोबार हुने मुलुक भारतले पूर्ण प्रणाली युक्त जिएसटी (गुड्स एण्ड सर्भिस ट्याक्स) लगायो। कारोबार धेरै पारदर्शी हुँदै गइरहेको पनि छ।

धेरै मालबाहक सवारी साधनहरू ओहोरदोहोर एवं पार्किङ हुने भन्सार यार्डमा धेरै किसिमका व्यक्तिहरू स्वरोजगार भएका छन्। गाडीमा ग्रीज लगाउनेदेखि सिसा पुछ्नेसम्म मान्छेहरू काम गरिरहेका हुन्छन्। दिनचर्या गजबकै हुन्छ।

अधिकांश मान्छेको बुझाइमा मालवस्तु पसल सुपर मार्केटमा सजाइएको अवस्थाको हुन्छ। तर कसरी मालवस्तु ओहोरदोहोर हुन्छ। त्यसको प्रणालीगत आपूर्ति व्यवस्थापनको काम भन्सार अधिकृतको नै होला भन्ने लाग्छ मलाई।

ती मिस्त्रीहरू जसले मलाई भेटे अनि म उनीहरूको समस्याको साधक बन्न सकेँ भन्सार यार्डको स्वरोजगारको व्यवस्थापनका लागि। उनीहरूको समस्याका लागि लाग्छ म धन्य छु। धेरै अधिकृतहरूले त्यो अवसर पाएनन्।

भन्सारमा मोटर पार्ट्स जाँचपास गर्ने अफजल, विष्णु र केदारहरू मोटर पार्ट्समा मूल्य नथपी कहाँ हुन्छ भन्छन्। अनि म भन्छु, के आधारमा मूल्य थप्ने? बौवा मिस्त्रीले काम गर्ने वस्तु किन महंगो बनाउने?

यसो भन्दा उनीहरू सहजरुपमा मालवस्तु लैजान हिचकिचाउँथे। यसको मतलब न्यून विजकीकरण गरेरै ल्याइएको छ, मूल्य नथप्ने हो भने अर्को निकायले अझ ठूलो कारबाही गर्न सक्छ।

समस्या कति थप्ने भन्ने हो? भारतबाट लोकल विजकमा आयात हुने मालवस्तुको मूल्य के आधारमा थप्ने? विदेशी मुद्राको भुक्तानी कसरी गर्ने? यावत प्रश्नहरू थुप्रिन्छन् भन्सार अधिकृतका अगाडि।

कम्पनीका सर्भिस सेन्टरले समेत समाधान गर्न नसकेका समस्याहरूलाई समाधान गर्ने बौवा मिस्त्रीहरू, जसको कुनै औपचारिक शिक्षा र तालिम छैन। न त कुनै सेफ्टी हाइजिनका प्रविधिहरू नै छन्।

सामान्य हाते औजारको माध्यमबाट बिग्रेका सवारी साधनलाई पुनर्जीवन दिने बौवा मिस्त्रीहरूको वेदना ती नै चालकले बुझेका हुँदा रहेछन् जसलाई सवारीमा भाडा नलिने र खानपानको व्यवस्था समेत गरेर गन्तब्य पुर्याइदिँदा रहेछन्।

चिल्ला कार, राम्रा बस र कन्टेनरभित्र अझै महत्वपूर्ण मालवस्तु भए पनि बिग्रेपछि बनाउने ती नै कालो, फाटेको, टाटैटाटा लागेका कपडा लगाएका बौवा मिस्त्रीहरू नै हुन्। जो ६ दशक लगातार एउटै काममा लगनशील भए। कैयौंलाई आफ्नो गन्तब्यमा सहीसलामत पुर्याए।

एउटा कामजिवीको पार्जनको साधन मात्र होइन, यो चेतसहितको मानवीय मूल्य र आफ्नो जन्मको सिद्धी गर्ने अवसर पनि हो। सामान्य साधनाबाट तीन-बीस वर्ष लामो पेसा हुन सक्ला र?

यस्ता साधनायुक्त व्यक्तित्व, शान्त मन र परिश्रमी हातहरू आज पनि समग्र चेतनाको स्तरभन्दा धेरै माथि छन्। कामलाई असीम माया गर्ने बौवा मिस्त्रीहरू र उनीहरूका मेहनतलाई कोटीकोटी सलाम।




लिंक :

https://www.setopati.com/blog/295504


Comments

Popular posts from this blog

भन्सार यार्डको बास्ना !

भन्सार अधिकृतको ट्रक डायरी

एउटा फरक अनुभव : भारत कृषि भ्रमण