हराएको विश्वास !!
-हरिहर पौडेल
सबेरै गाईको दुध
बेच्न निस्किएका हामी
विदेशी शक्तिवर्धक दुर्गन्धहरुको
साँझ गन्ध सहित
घर भित्र छिर्छौं ।
पुर्खाले सम्हालेका
वीरहरुका गाथा
पढ्दै गर्दा
इतिहासकार
इतिहाँस विर्सन्छ
किनभने वीरहरुका रगतमा
आजभोली ठ्वास्स गन्ध
आउन थालेको छ ।
रेगिस्तानका श्रम शिविरमा
रगत र पसिना चुहाएर
कमाएको दुई माना सामल
गाउँ नपुग्दै पोखिन्छ ।
भविष्य लेख्ने
जिम्मा पाएको भावी
हाम्रो निधार खाली राख्छ
किनभने
उसलाई लेख्न आउँदैन
भन्न आउँछ ।
फाटेको कोट
टाला हाल्दा हाल्दै
सिलाएको रंग हराउँछ
सायद
पेरिस भएको भए
यो पनि नयाँ फेसन हुन्थ्यो ।
यो त रेगिस्तानको कमाईमा
संघाईको कपडा
ठूलेले सिलाएको हो ।
पीडा सुन्दै गर्दा
कहिल्यै नझुक्ने
हाम्रा पहाडहरु रुँदै झुक्छन्
।
पाउने आसामा आरती गर्ने
हनुमानहरु कति धेरै भुक्छन्
।
ओझेल परेको बेला
आँखा चिम्लिँदा
संगैको योद्धाले धोका दिन्छ
किनभने
आफैसंग विश्वास छैन
शरिरसंग स्वस्थ निस्वास छैन
।
कारण त त्यो होइन
कारण
हिमाल पग्लेको हो
पहाड फुटेको हो
मधेश टुक्रिएको हो
सिद्धान्त नासिएको हो
नैतिकता भासिएको हो
हामी आफैसंग हारेको हो
गाउँगाउँ वीच पानी बारेको हो।
Comments
Post a Comment