मेट्रो चढेर फेरी गोकर्णमा

धुलाम्य शहरको धूलो छल्न
चिल्ला र टुप्पी भएका सवारीहरु
लाम लगाएर
कालीकोट र हुम्लाका बैँसका कुराहरु गर्न
त्रिशुली र गण्डकीका तुइनहरुको छलफल गर्न
शहरको व्यस्त दैनिकी हेरेर निदाइ रहेको
यो गोकर्णको थुम्कोमा असरल्ल
एकाकार हुने प्रयास गर्दैछौं ।

इतिहासको उत्तरवाट दक्षिण छिर्ने ढोका
शहरको काँठमा झिलीमिली साँझमा झुमिरहन्छ ।
कहिले विदेशी रक्सीको मात त
कहिले पाहुना नपाएको झोँक
यो जंगललाई पनि लाग्दो हो ।

छेवैमा ठिंग उभिएको रुख
विकासका कुराहरु सुन्दासुन्दै
कुप्री परिसकेको छ ।
र हामी सुधारको अभियान लिएर
परम्परा पछ्याउँदै त्यही रुख मुनी
कसैले सुने पनि नसुने पनि बोलिरहेछौं ।

यो पनि सीमा हो आकास र धर्तीको
जुन थुम्कोमा तल शहर र माथी आकास छ ।
र हामी सीमाका गन्थनहरु बिसाउन यही
थुम्कोमा भर परेका छौं ।

शान्ति खोज्ने बाहानामा
साली नदि नजिकै बुलबुल गर्दा
बौद्धका स्तुपहरुमा घन्ट घुनघुनाउँछन् ।
र हाम्रो गुनगुनाहट
साली नदि जस्तै शालिन बनोस् ।
यो थुम्को जस्तै अटल बनोस् ।
चुहावट नियन्त्रणका प्रयासहरु
यी रुख जस्तै हरिया बनुन् सधैंभरी ।

र गन्थनहरु बोकेर ठाउँ चाहार्दै गर्दा
कतै आत्म बिश्वास नघटोस् ।
पोखिएका बोलीहरु शक्ति बनेर निस्कियुन्
यही माटोमा
र यथार्थ बनोस् हाम्रो शहरवाट मेट्रो चढेर
फेरी गोकर्ण आउन पाइयोस् ।

 -हरिहर
२०७३।१।१६
गोकर्ण 

Comments

Popular posts from this blog

भन्सार यार्डको बास्ना !

भन्सार अधिकृतको ट्रक डायरी

भुकम्प र पराकम्पका निसानाहरु