नेपाल किन बनेन ??



नेपाल किन बनेन ??


                            -हरिहर पौडेल
(नेपाल किन बनेन सन्दर्भ कान्तिपुरको वहस)              

कान्तिपुरको वहस " नेपाल किन बनेन"मा ढिलै भए पनि राज्यको अधिकार, श्रोत र शक्ति लिएकाहरुको केहि नजर पर्नेछ भन्ने आसा गर्न सकिन्छ । एकै वाक्यमा "नेपाल किन बनेन" भन्ने रेडिमेड उत्तर पाउन नसकिए पनि क्षेत्रगत आधारमा विश्लेषण गर्दा कारणहरुको चाङ लाग्न सक्छ । आधुनिक नेपालको निर्माण पश्चातका अवधिको राजनितिक, आर्थिक र सामाजिक परिवेशलाई समेट्दा केहि कारणहरु भेटिन्छन् ।
राजनितिक आधारमा :
राजनिति नै आधुनिक समाजको अग्रगमनको पुञ्ज हो । आधुनिक नेपालको वि.सं. २००७ सम्मको राजनितिक शासकीय प्रवृत्ती राजकीय राज्यसत्ताको चरम दुरुपयोग र आफुखुशी शक्ति उपार्जनको श्रोत मात्र रह्यो । हुन त त्यतिबेला चेतनाको स्तर बढेकै थिएन तैपनि राजनितिक संस्कृतिको जग बन्नु पर्ने थियो तर बनेन । वि.सं. २००७ पछि २०१७ सम्मको अवधि बेचैन अस्थिरता वीच गुज्रियो जुन समय समाज विकास र आधुकिकरणको पथमा अगाडि बढ्नु पर्थ्यो । विश्वेश्वर प्रसाद कोइराला र राजा महेन्द्र राजनितिक सोचका  अग्रसारथी र संवाहक भए पनि बाटोको फरकपन बाधक बन्यो । एकै समय एउटै जंगलमा दुइटा सिंहको टकराव नेपालीहरुको दुर्भाग्य बन्न पुग्यो । श्री ५ प्रति उत्तरदायी हुने राजनितिक नजिकपन र विरोधका वीच चाकडीमा समय बिताउने संस्कृतिले वि.सं. २०४६ सम्म बित्यो ।
 वि.सं. २०४६ को राजनितिक परिवर्तन पछि राज्यले एउटा दिशा निर्देश समाते पनि उग्रवामबाद र उग्रदक्षिणबाद वीच बाराबरीको खिचातानी, कमजोर राजनितिक सचेतता नै अस्थिरताका द्योतक बने । राजनिति उच्च नैतिक र प्रजातन्त्र (लोकतन्त्र) अनुशासनपूर्ण हुनुपर्नेमा अवसरबादमा परिणत भयो । बन्द समाज खुला हुंदाका असरहरुलाई राजनितिले नियन्त्रण गर्न सकेन । सामाजिक न्याय, समतामुलक समाज र कानुनको शासनको प्रत्याभुति नभई खुला समाज स्वनियन्त्रित हुन सक्दैन ।  उच्च राजनितिक छाता र छायाँले प्रत्येक क्षेत्र विभाजित हुनपुग्यो र एउटा आक्रान्त युद्ध शुरु भयो । सामुदायिक, साम्रदायिक, भाषिक तथा धार्मिक सहिष्णुता र सहअस्तित्व विग्रह, अस्वीकार, अपनत्वको लडाई राजनितिक दाउपेचको अंश बन्यो जसवाट प्रगति गर्ने ढोकाहरु कमजोर बन्दै जान थाले । राजनितिक शक्ति सन्तुलनका आधारमा पुन जारी आन्दोलनवाट अधिकारहरु प्राप्तीका भाषणहरु जारी भए पनि  राजनितिक रुपमा नेपाल बन्ने सपनाका आधारहरु कर्तब्य सहित आउन सकेका छैनन् ।  नेपालमा विगतमा भएको राजनितिक द्धन्द पूर्ण अधिकारको युद्ध मात्र नभएर सामाजिक असन्तुलन र समानुपातिक वितरणको असरवाट निस्केको एउटा मुल पनि हो । उच्च राजनितिक प्रतिबद्धता, कानुनको शासन, कार्यान्वयनमा शुन्य सहनशीलता, हाम्रो छोडी राम्रो खोजि नगर्ने हो भने राजनितिक गतिरोधवाट सामाजिक वितृष्णा शुरु भई अशान्ति हुन्न भन्ने ठोकुवा गर्न सकिंदैन । अत: विकासको सुत्रधार भनेकै राजनिति भएकोले राजनितिक चरित्रको शुद्धिकरण र आगामि सोच सहितको राजनतिक प्रतिबद्धता बिना नेपाल बन्न सक्दैन ।
आर्थिक आधारमा :
राज्य बन्न चेतनाको स्तर, क्षेत्रगत कार्यक्रम र सफलता, रोजगारी र कार्य अनुशासन सहितको कार्यान्वयन जरुरी हुन्छ । नागरिक चेतना र सामाजिक शिक्षा सहित आफ्नो दायित्व बुझ्ने र बुझाउने, कर्तव्य पालन गर्ने र गराउने  प्रयास भएन । भौगोलिक अवस्थितिलाई अवसरमा बदल्नको सट्टा देखाएर झुक्याएर व्यक्तिगत लाभग्राही वगको वर्चश्व बढ्यो । छरिएका बस्तिहरुलाई एकत्रित गर्ने प्रयास गरिएन, स्थानीय श्रोतको पहिचान गर्न सकिएन, लक्षित समुहको माग भन्दा लाभग्राही समुहको आपुर्तिका आधारमा कार्यक्रमहरु निर्धारण गर्ने बानी बस्यो ।
आवधिक योजनाहरु आत्मपरक साहित्य र पुस्तकालयको बोझ भन्दा बढी भएनन् । नीति तथा योजनाहरु गोस्वारा बन्ने र कार्यक्रम लक्षित समुह सम्म नपुगि सम्पन्न हुने, माग योजना भन्दा अधिकारीग्राही योजनाले पुस्तकहरु तयार गर्यो तर स्थलगत परिवर्तन गर्न सकेन । चरणहरुमा नै आयोजना बन्ने र बनाउने र दातृ निकायलाई व्यक्तिगत लाभमा समाहित गरि कार्यक्रम छनौट गर्ने पेशा बन्यो ।
कृषिमा प्रथमिकता भन्ने गरिएको र श्रोतको परिचालन गरिएको भनिए पनि आज सम्म कृषकले मल र बिउका लागि लाठिचार्ज सहनु पर्ने स्थिति असह्य मात्र नभएर लाजमर्दो छ । जीवन निर्वाहमुखि सुधार र कृषिको रोजगारीको समस्या सम्बोधन साथै व्यावशायीकरण बिना कृषि उपजको आयात रोक्न सकिँदैन ।
जलश्रोतको धनि मुलुक आधा समय शहर समेत अन्धकारमा रुमलिँदा दैनिक बग्ने खोलाका पानीले गिज्याई रहेकाछन् । सपना देखे पनि कार्यान्वयन अग्रसरता र लगानि बिना जलविद्युतका आयोजनाहरु पुन झोलामा सिमित रहिरहने निश्चित छ ।  
भौतिक पुर्वाधारको लगानी स्थानीयको अपनत्व नहुँदा भग्नावशेषमा परिणत भए, जुन नमुना विकासका रणनीतिहरुको निरन्तरताको कमि पनि हो । कार्यदक्षपूर्ण लगानी सुनिश्चित गर्न नसक्नु र मरम्मत संभार खर्चका लागि श्रोतको जोहो गर्न नसक्नु पुर्वाधार विकासका कमजोरि रहे ।
सामजिक सेवा क्षेत्र अनुगमन नियन्त्रण हुन नसक्दा व्यक्तिगत लाभका अवसरहरु र पटके निजिक्षेत्रको कब्जामा गयो जसवाट जन उत्तरदायी आयाम कल्पना भन्दा नजिक हुनै सक्दैन । औपचारिक शिक्षा राष्ट्र र समाजका लागि भन्दा आडम्बर र अवसरमा केन्द्रित रह्यो, अनौपचारिक शिक्षा कर्तब्यबोध भन्दा राजनितिक  अधिकारका दाउपेचका कथा बने ।
कर्मचारितन्त्र पिछलग्गू, बेकामे, ढर्रा न ढाँचाको, अवसरवादी हुँदै अस्तित्वबिहिन, अनुत्तरदायी शासकीय प्रवृत्तीको रहन गयो जसवाट उद्देश्य अनुरुप भन्दा अनियमितता, भ्रष्ट्राचार र राजनीतिलाई चोर मार्ग सिकाउने माध्यमको रुपमा विकास भयो ।
भौतिक पुर्वाधार, उर्जा संकट र औद्योगिक श्रम सम्बन्धका कारण वैदेशिक लगानी तथा निजिक्षेत्रका बाधक रहे जुन बिना रोजगारी र त्यसको बहुआयामिक असरले अर्थतन्त्र प्रभावित भई  आयात निर्भर राजस्व संरचना र वाद्यताका रेगिस्तानी यात्राहरुले नेपालीका जीवन पर्यन्तका सुखहरु छिनेको छ ।
सामाजिक आधारमा :
विकासको माध्यम, साधन र बाधक सबै नै परम्परा र बन्धनयुक्त संस्कृतिलाई पनि लिन सकिन्छ जुन नेपालमा कहिल्यै अवसरमा बदल्न सकिएन । परम्परागत सामाजिक संरचना र पुरेत संस्कृतिको उपज नेपाली समाजको चेतनास्तर न्युन र परिवर्तन गर्न नसकिनु पनि नेपाल नबन्नुका कारण रहे । भाग्यबाद र त्यसैमा लामो समय आनन्दीत रहने संस्कृतिको उपज पछिल्ला साम्प्रदायिक, भाषिक तथा धार्मिक उथलपुथल हुन् ।
सिमित वर्गले शासकलाई जन उत्तरदायी हुनवाट रोक्नु, सबै वर्ग र पेशागत समुह शासकीय वर्गप्रति मात्र उत्तरदायी रहनु नै सामाजिक रुपान्तरण हुन नसक्नु हो । मिश्रित तथा विषम समुदायमा निश्चित वर्गको मात्रै उच्च कार्य र जन्मका आधारमा हुने विभेदले स्थानीय श्रोत र अपनत्व प्रभावित भइरह्यो ।
बन्द समाज खुला हुँदै जाँदा नियन्त्रण र उपयोग गर्न नसकिनु, लोक कल्याणकारी राज्यका दायित्वहरु समेत साम्प्रदायिक दायरामा समेटिनु, सामजिक न्याय गिर्दै जाँदा राज्य झन् कमजोर बन्नु नै नेपाल बन्न नसक्नुका कारण रहे ।
अन्त्यमा :
राजनीति नै विकासको आधार र श्रोत भएको हुँदा असल चरित्र, सोच र प्रतिबद्धता सहितको जन उत्तरदायी राजनीतिक रणनीति आवश्यक भइ सकेको छ । उच्च चेतना र सुनिश्चित समानुपातिक वितरण प्रणालीका लागि हालका विग्रह, सत्ता दुष्प्रयोगित, असहिष्णुपूर्ण राजनीतिको शुद्धिकरण नै सुधारका विम्ब बन्न सक्छन् । रोजगारीको सुनिश्चितता सहित श्रोतको उच्चतम उपयोग र क्षेत्रगत रणनीतिहरुको संयोजनमा नै कार्यक्रमको सफलता निर्भर रहन्छ ।

धन्यबाद

Comments

Popular posts from this blog

भन्सार यार्डको बास्ना !

भन्सार अधिकृतको ट्रक डायरी

एउटा फरक अनुभव : भारत कृषि भ्रमण