एउटा फरक अनुभव : भारत कृषि भ्रमण
“दुब्लो शरिर, चिन्ता मिश्रण अनुहार, झुस्स दारी, फाटेको टोपी, मैलो कमिज, छोटो कछाड लगाएको र कुटो कोदालो, हलो बोकेको कोही मान्छे फोटोमा देखियो भने ऊ कृषक । त्यस्तो मान्छे बन्न के हाम्रा नयाँ पिँडी आकर्षित होलान् ? अनि कसरी होस् त नयाँ व्यवसायीको आगमन कृषि पेशामा ? मन भित्र बसेका अनुभुति परिवर्तन नगरी कृषिमा रुपान्तरण संभव होला र ? अब डम्म शरिर, हँसिलो अनुहार, टक्क एप्रोन सहित ह्याट लगाएको, कमसे कम आधुनिक कृषि उपकरण सहितको कृषि व्यवसायीको फोटो त बनाउन पर्यो नि पहिला ।“ भनेर मैले भन्दा प्रमुख कृषि प्रसार अधिकृत प्रकाश लगायत सबै हाँसे ।
कृषक नभनौं कृषि व्यवसायी भनौं भनेर पटक पटक आग्रह पनि गरें ।
१२ कृषि व्यवसायी सहित २५ जनाको समूह यो प्रदेश नं १ को पहिलो प्रयास भारत भ्रमणको जसलाई लाइभस्टक अधिकृत कुमार खत्रीले संयोजन गरेका थिए भने उनको काम प्रतिको लगनशिलता, प्रतिबद्धता र समर्पण साह्रै उदाहरणीय पनि छ ।
आर्थिक वर्ष २०७५।०७६ को अन्तिम दिन प्रदेश राजधानी विराटनगरमा करिव ३ बजे सम्म अड्डा कै काममा व्यस्त रही ३।३० बजे हतार हतार मेची तिर प्रस्थान गरियो । झापाको बाहुनडाँगीमा व्यवसायी कै आतिथ्यता ग्रहण गर्न । श्रावण १ हरियाली महिनाको पहिलो दिन मेची नगरका मेयर विमल आचार्यको ब्रेकफास्टको आत्मियता पछि बागडोग्रावाट १२ बजे दिउसोको प्लेन भेट्न लागियो सीमा पार गरेर ।
बागडोग्रा – दिल्लीको उडान पश्चात इन्दिरा गान्धि एयरपोर्टमा थिए एक हँसिला व्यक्ति शेलेन्द्र जो कृषि उपकरण उत्पादन कम्पनिका मेनेजर रहेछन् । उनकै संयोजनमा दिल्लीका तीन दिन बिते । जसमा उनले उत्तर प्रदेशको गाई फार्म, कृषि उपकरण कम्पनी देखि हरियाणा (कर्नाल)का गाई फार्म समेत देखाउने व्यवस्थित काम गरे । यात्रामा जहाज नै रोक्न सकिने बाटोको चर्चा भई रह्यो । बाटो भरिका सवारिहरु देख्दा आर्थिक पाटो संगसंगै आउँछ ।
त्यो हेरे पछि हाम्रा कृषि व्यवसायी राजेश बास्कोटा भन्दै थिए दुध दिने पशुलाई पराल खुवाउन नहुने रहेछ । जे खायो त्यस्तै उत्पादन हुने रहेछ ।
२० जुलाई, विहान ४।४० बजेको पुना जाने इन्डिगोको उडान । एयरपोर्ट जानका लागि १ बजे नै हिड्नु पर्ने भएकाले राती सुत्ने कुरै भएन । भारत सुरक्षाका दृष्ट्रिकोणवाट संवेदनशील । ६।२० मा सामरिक महत्वको पुना एयरपोर्ट पुगियो । सवारी व्यवस्थापन सहित हाँजिर थिए संजय गौरव जो कृषि बजार सम्बन्धि कार्य गर्दा रहेछन् ।
त्यसपछि गाडीवाट कोल्हापुर । त्यति लामो बाटो, त्यति धेरै सवारीहरु कतै जाम नहुने । अझ सुरुंगवाट पहाड छिचोल्दा हामी कहाँ भएका धिमे गतिका विकासले गिज्याई रहे बाटो भरी करिव ७ घण्टा । कोल्हापुर कोल्हापुरे चप्पल र ड्रेसका लागि प्रसिद्ध छ । कोल्हापुर मेरो दोश्रो भ्रमण, पहिलोपटक विद्यार्थी हुँदा साथिहरुसंग आएको छु यहाँ । कोल्हापुरको ३ दिन यति धेरै व्यस्त बनाए संजयले । १।२ घण्टा पनि आफ्नो लागि छुट्याउन नसकिए पनि एक साँझ १ घण्टा समय निकालेर बल्ल बल्ल कोल्हापुरे चप्पल किन्न भ्याइयो ।
कोल्हापुर पुग्ना साथ फेटा लगाइदिएर सम्मान गरे कृषि व्यवसायीहरुले । हामीकहाँ खादा लगाई सम्मान गरे जस्तै । अनि शुरु भयो अवलोकन श्री कडासीदेशार गुरुको आश्रमवाट । जुन आश्रममा भारत सरकारको “कृषि विज्ञान केन्द्र” समेत रहेछ । सायद नेपालमा “कृषि ज्ञान केन्द्र” त्यसैको नक्कल पो हो कि ?
गुरुले कृषि र खाद्य सुरक्षा सम्बन्धी प्रवचन साह्रै मन छुने दिनु भयो । त्यस ठाउँमा कुनै रसायनिक पदार्थ प्रयोग नगरी प्रांगारिक उत्पादन शुरु गरिएको रहेछ । गाई पनि विभिन्न २२ स्थानीय जातका पालिएका रहेछन् । एउटा विशाल अनुसन्धान केन्द्र जस्तो । गुरु भन्दै हुनुहुन्थ्यो गाई मरेपछि एउटा ट्यांकमा राखि त्यति नै तौलको गौ मुत्र (गहुँत), त्यति नै गोबर र त्यति नै तौलको दुध राखेर छोपे पछि प्रति किलो भा रु १५०० मा विक्रि हुने प्रांगारिक मल तयार हुन्छ जुन बालीहरुका लागि संसारको सबभन्दा उत्तम खाद्य पदार्थ हुन्छ ।
कृषि विज्ञान केन्द्रका विज्ञहरुले बाली तथा पशु पालन सम्बन्धि विभिन्न प्रश्नहरुको जवाफ दिए । कृतिम गर्भादानको एउटा नयाँ प्रविधि विकास समेत गरेका रहेछन्, त्यो प्रविधि अन्त रहेनछ र त्यसको बजारीकरण हुने क्रममा रहेछ । जसको बौद्धिक सम्पति दर्ता हुने प्रक्रियामा छ रे ।
अर्को दिन आइतवार, भारतमा सार्वजनिक विदा । हामीलाई धेरै भन्दा धेरै हेर्नु छ । अनि शुरु भयो गाई फार्म, भैंसी फार्म अनि कृषि उपजका खेतहरु सहित । पशु यस्तो वस्तु हो जुन जिउँदो छँदा उत्पादन दिन्छ र मरे पछि आफै उत्पादन बन्छ । मानव जीवनको अभिन्न अंग । एउटा औद्योगिक शहरका आसपासका कृषि बजारीकरणका अनुपम नमूनाहरु । पेशामा समर्पित सहयोगी ती व्यवसायीहरु । माने लिउँ बिहानको ब्रेकफाष्टलाई चाहिने मात्र एक गिलास दुध र बटर कसरी तयार हुन्छ त्यसको सम्पूर्ण जानकारी लिन एक दिन कमै लाग्दो रहेछ । मुम्बईवाट झिकाईएका एक जना प्राविधिक शिक्षा सम्बन्धी प्रवचक (मुरली)को प्रस्तुती “कसरी रोजगारीलाई सीपसंग आबद्ध गर्न सर्किन्छ” प्रशंसा योग्य थियो ।
आज कोल्हापुरको अन्तिम दिन । झनै महत्वपूर्ण रह्यो । गोकुल सहकारीवाट संचालित डेरी ( दुग्ध पदार्थ उत्पादन केन्द्र ) । गोकुलका उत्पादनहरु भारत भरी नै प्रख्यात रहेछन् अमुलका उत्पादन जस्तै । सन् १९६६ मा ७०० लिटर दुधवाट शुरु गरिएको डेरीले आज १५ लाख लिटर दुध दैनिक प्रशोधन गर्दो रहेछ । जसमा २५० कृषक परिवार आबद्ध रहेछन् र भा रु २३०० करोडको वार्षिक कारोवारमा ८० प्रतिशत रकम कृषकलाई भुक्तानी गर्दो रहेछ ।
डेरीले महिला सशक्तिकरणका लागि काम गरेको भन्न छुटाएनन् त्यसका निर्देशकले । साथै जम्मा भा रु ३० देखि ४० सम्ममा भेटेरीनरी डाक्टरको सुविधा प्रत्येक कृषकलाई दिने व्यवस्था रहेछ । १९९७ देखि पूरापूर नाफामा संचालन भएको डेरी उत्पादनको माग बजारमा बढ्दो छ भन्दै सहकारीताका सिद्धान्तका विषयमा मन पर्ने प्रस्तुती दिन भ्याए त्यहाँका निर्देशकले । हाम्रा कृषकका प्रश्नका जवाफ सरल र रसिलो तरिकाले बुझ्ने गरि दिए । त्यसरी नै कृषकका माग बमोजिम दाना उत्पादन गरिदिने दाना फ्याक्ट्री पनि संचालन गरिएको रहेछ सहकारी मार्फत । पशुलाई के खुवाएमा उत्पादन धेरै र गुणस्तरीय हुन्छ भन्ने अनुसन्धानका आधारमा दाना उत्पादन गरी कृषकलाई प्रदान गरिने रहेछ ।
त्यसपछिको यात्रा समाचार पत्र “सकाल” । महाराष्ट्रमा धेरै विक्रि हुने मध्येको समाचार पत्र । जसले प्रत्येक दिन कृषक शीर्षकमा १५ पेज प्रकाशन गर्दो रहेछ । सम्पादक मण्डल मध्येका एक जनाले हाम्रो आतिथ्यता गरे । अनि समाज रुपान्तरणको आभियानमा मिडियाले गर्न सक्ने योगदान सम्झाए हामीलाई । प्रत्येक दिन १५ पेज कृषि सम्बन्धी कुराहरु मराठी र अंग्रेजीमा प्रकासन हुने “सकाल” कति गाह्रो हुँदो हो पूर्ण विवरण छाप्न । कृषक समस्या समाधानका लागि फोन नम्वर र समाधानको प्रक्रिया समेत उल्लेख हुने गरी छाप्दो रहेछ सकालले । वेभ: https://www.esakal.com/
हिड्नलाई हतार भई सकेको छ । गोवावाट भोलीको उडान भेट्नु थियो र सामान्य समुद्र देख्नु थियो सबैलाई । तैपनि एउटा गोकुलको कृषक सहकारी नपुगी यात्रा अधुरो हुने । त्यसैले लागियो नजिकैको गाउँ । जहाँ ३ घण्टा देखि हाम्रो प्रतिक्षामा फुल लिएर कृषकहरु बसका रहेछन् । न्यानो आतिथ्यता, भाषाको जटिलता ( अधिकांश मराठी मात्रै बोल्ने र बुझ्ने ) वीच हामी रुमलियौं करिव २ घण्टा । सबैले खुलेर गोकुल डेरी र त्यसले गरेको योगदानको प्रशंसा गरे ।
हामी हतार हतार साँझ ६ बजे दक्षीण तिर कर्नाटकाको बाटो हुँदै गोवा लाग्यौं । बाटोमा पानी बेजोड पर्यो । सवारी भित्र वीभिन्न हँसी मजाकका साथ रमाइलो गर्दै गन्तब्य १२ बजे पुगियो । बागा वीच निरको होटेलको बास र सबेरै सात बजे वीचमा फोटो खिच्नु त छँदै थियो । सात देखि १० बजे सम्म समुद्री किनारमा भिजेर फर्किँदा सारा थकाईले पार पाए जस्तो । समुद्रले नछोएको हाम्रो देश विशाल छाल सहितको पानी देख्दा मन कम्ता उम्लिएन ।
अनि २ बजेको प्लेन भेट्नु त छँदै थियो गोवा एयरपोर्टमा । फर्केर ३ बजे पुन पुना पुगियो । बल्ल फुर्सद मिल्यो कोसेली जोरजम्मा गर्ने । श्रेयस होटेल, शिवाजी नगर, पुना मीठासपूर्ण खाना सायद त्यही थियो चौरासी व्यन्जन पूर्ण साहाकारी । त्यतिका होटेल, त्यति धेरै मान्छे खाने र बस्ने कहिँ कतै मदिरा देखिएन । मदिराले विकास हुने होइन रहेछ ।
२४ जुलाई बिहान ६ बजेको प्लेन । पुनावाट अहमदाबाद हुँदै बागडोग्रा । अनि नेपाल सीमा मेची । यो यात्रा स्मरण भन्दा नि सिकाईको एउटा अनुभव मन भरी संगालेर फर्कियौं ।
कृषि पेशा आम्दानी संग भन्दा नि मानव स्वास्थ तथा खाद्य सुरक्षा र खाद्य संप्रभुतासंग जोडिएको विषय हो । संविधान, कानून र नीतिहरुमा लेख्दैमा नहुने रहेछ । चाहिदो रहेछ कर्मठ हातहरु, प्रतिबद्ध निकायहरु र सरल प्रविधि । कति रकमको कृषि उपज आयात भयो भन्ने तथ्यांक केलाएर विश्लेषण धेरै गरिएको छ हामीकहाँ तर गरिएको छैन कसरी शुद्ध खाना प्रदान गर्न सकिन्छ सबैलाई ।
कृषकहरु जसले हामीलाई स्वस्थ खाना प्रदान गरे, हाम्रो जीवन बँचाए र बँचाईरहेका छन् । उनीहरुलाई हृदय देखि सलाम ।
Published : http://aitc.gov.np/downloadfile/Agriculture%20Magzine%20Mangsir-Falgun_nep_1594111463.pdf
Twitter : @harihar029
Twitter : @harihar029
धन्यबाद
read your Nepali language article. I could make sense. Thanks for sharing.
ReplyDeleteGhanekar
9011299200...MD, Gokul Dairy Kolhapur
Thank You !
Delete