Posts

Showing posts from May, 2016

राजनीति र समय

अस्थिरताको श्रोत राजनीति हो या बाधक हो ? कहिलेकाँही भन्न मन लाग्छ राजनीति विहिन समाज नै यस शताब्दीको उत्कृष्ट मुलुक हो । बस्ती बसेको समाज जब राजनीतिमा क्रिडा खेल्छ तब अपराधले घुम्टो उघार्छ । अनि सम्झन मन लाग्छ फेरि राजनीति विहिन समाज । अधिकारका कुराहरुले पेट भरिएको दिन आन्दोलनका बाढीहरुले सत्ता गिराएको दिन मन ढक्क फुलेर आउँछ सम्झनामा आदर्शका थुँगाहरुले युवालाई हराएको दिन । अधिकारका नाममा मानवता हराउँदै जाँदा समर्थनका नाममा नैतिकता बिर्सँदै जाँदा राजनीतिले बाटो बिराए जाने निकास नहुँदो रहेछ अब त विश्वास गुमिसकेको छ रमिते दर्शकले समेत बुझिसकेको छ । फाटेका लुगा टालाले कति दिन थाम्छ र ? फुटेका मनहरु कुराले कति पो खाम्छ र ? जे सुकैको पनि एउटा निश्चित परिधि हुन्छ मानवीय मुल्य त्यहीँ नेर चुक्छ हाम्रो राजनीति त्यसरी नै झुक्छ समय फेरि हामीलाई झुक्याएर लुक्छ ।

शिर निहुराएर हामी हारिदिन्छौं

प्रत्येक दिन बिहान झिसमिसे मै चियाको चुस्कीसंगै समाचार खोज्छु आखिर समस्या के हो ? अनि समाधान पाइन्छ समस्या सरकार हो । हाम्रा मन यति कोमल छन् जसले जे भन्यो त्यतै लाग्ने अनि यसको पनि समाधान होला को भनेर अखवार पल्टाउँछु अनि पाउँछु समस्या राजनीति हो । हाम्रा मनहरु जोडिएका छन् तर कतै कतै चुँडिएका पनि छन् मन कस्ले चुँडायो म पुस्तक भरी घोत्लिएर समस्या कतै छ कि खोज्छु समस्या समाज र चेतनामा पाउँछु । यति धेरै कोमलता यति धेरै स्वच्छता यति राम्रो एकता भंग हुँदा समस्या कहाँ निर भयो हाम्रा आराध्यदेवको आराधनामा शंका गर्छु । समस्या मन भित्रका मनहरुमा पाउँछु । हामी यति धेरै बहिरा भएका छौं कि कुनै संक्रमणले हाम्रो आवाज बाहिर ल्याउँदैन कुनै अतिक्रमणले हाम्रो मन छुँदैन बाक्लो छाला भएको गैँडा जस्तै कुनै आपत्तिले तातो चिसो बनाउँदैन कुनै विपत्तिले हतार पनि बनाउँदैन । हामी जे छौं छँदैछौं इतिहाँसको घुम्टो ओडेर वर्तमान संकटलाई टारिदिन्छौं । कहिल्यै नझुकेका हामी हाम्रो राजनीति सामु शिर निहुराएर हामी हारिदिन्छौं । -हरिहर २०७३ बैशाख २१ बीरगंज