केन्जिङ भ्यालीमा स्वर्गका टुक्रा !
आयो है अमिलो मीठो टमाटरको अचार, गुन्द्रुकको अचार, टिमुरको अचार' राम्जेको होटलको भाइले यसो भन्दा हामी लखतरान भएकालाई के चाहियो? राम्जेको होटल पुग्दा नै असिनपसिन भइएको थियो। उनको कुरा साँच्चै भन्ठानेर मैले हत्तपत्त 'टमाटरको अचार खाऊँ है यता' भनिहालेँ । साथी ज्ञानेन्द्रले पनि गुन्द्रुकको अचार मगाए। भाइले त जोक्स पो भनेको रहेछ। ल्याउँदा त मुलाको भुजुरी नै पो रहेछ। २०७४ कात्तिक २३ को कुरा हो। रसुवागढीमा केही सरकारी काम सकेर स्याफ्रुवेसी पुग्दा राति १२ बजिसकेको थियो। तयारीविनै हिँडेका हामीले केही औषधि र चकलेट किनेर भोटेकोसी (तिब्बतबाट आउने खोलालाई भोटेकोसी नै भन्ने चलन रहेछ, हामीले त भोटे त्रिशूली पनि भन्यौं कतै कतै) किनारको यात्रा सुरु गर्यौं करिब १ बजे। करिब ३ घण्टाको हिँडाइपछि खोलाकै किनारमा रहेको एउटा होटलले यतै बसौं भनेको आग्रह बेवास्ता गर्दै हामी अघि बढ्यौं। छङछङ गर्दै आएको नदीको किनारै किनार हिँड्यौं। झमक्क साँझ पर्दा बास बस्ने होटलको छानो देखिएपछि साह्रै आनन्द महसुस भयो। धन्यले राम्रै कोठा पाइयो। होटल होस् वा बाटोमा हामीले आन्तरिक पर्यटक (नेपाली) देखेनौं। भर...